महोत्तरी । पछिल्ला संसदीय निर्वाचनको मतपरिणामले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ लाई लामो समयसम्म महन्थ ठाकुरको राजनीतिक गढका रूपमा चिनाएको थियो । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संरक्षक ठाकुरले यही क्षेत्रबाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै मधेश राजनीतिमा निर्णायक हैसियत बनाएका थिए ।
पार्टी संगठनदेखि मतदातासम्म उनको प्रभाव मजबुत रहँदा यो क्षेत्र ‘महन्थको क्षेत्र’ भनेर चिनिन थाल्यो । तर, यस पटकको प्रतिनिधिसभा निर्वाचनमा ठाकुर आफैँ मैदानमा छैनन् । हालै राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका उनले संघीय संसदको तल्लो सदन छाड्दै माथिल्लो सदन रोजेका छन् ।
छोरीको उम्मेदवारी र पार्टीभित्रको असन्तुष्टि
ठाकुर प्रतिनिधिसभामा नउत्रिएपनि जसपाले उनको राजनीतिक विरासतलाई निरन्तरता दिन डा. मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएको छ । तर, यस पटक परिस्थिति उनका लागि सहज देखिँदैन । जसपाकै नेता तथा पूर्वमन्त्री हरिनारायण यादवले बागी उम्मेदवारी दिएपछि प्रतिस्पर्धा जटिल बनेको छ ।
यादव २०७९ को निर्वाचनमा यही क्षेत्रबाट जसपाका आधिकारिक उम्मेदवार थिए । त्यतिबेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरसँग उनी पराजित भएपनि निकटतम प्रतिस्पर्धी बनेका थिए । यही पृष्ठभूमिका कारण यादवको विद्रोह मिनाक्षीका लागि गम्भीर चुनौतीका रूपमा हेरिएको छ ।
टिकट विवाद र विद्रोह
यस पटक लोसपाले महोत्तरी ३ बाट ठाकुरको नाम एकल रूपमा सिफारिस गरेको थियो । तर, मनोनयनअघि नै ठाकुर राष्ट्रियसभामा व्यवस्थापन भएपछि यादव आफूले टिकट पाउनेमा विश्वस्त थिए । अन्तिम घडीमा ठाकुरले छोरीलाई राजनीतिक उत्तराधिकारीका रूपमा अघि सारेपछि यादवले विद्रोहको बाटो रोजेका हुन् ।
यादवले पार्टीभित्र लामो समय योगदान दिएका नेताहरूलाई पन्छाउँदै वंशवादी प्रवृत्ति हाबी भएको आरोप लगाएका छन् । यही कारण जसपाभित्र असन्तुष्टि चुलिएको छ । मधेश आन्दोलनदेखि सक्रिय नेताहरूले पार्टीभित्र शक्ति परिवारमै सीमित गरिन खोजिएको भन्दै असन्तोष व्यक्त गर्न थालेका छन् ।
जसपाले बागी उम्मेदवारी दिएपछि यादवलाई पार्टीबाट निष्कासन गरिसकेको छ । तर, यो निर्णयले पार्टीभित्रको मतभेद अझ गहिरिएको जसपाकै नेताकार्यकर्ताहरू बताउँछन् ।
मत विभाजनको जोखिम
यादवको विद्रोहले जसपाको परम्परागत मताधार विभाजित हुने सम्भावना बढाएको छ । यसले विगतमा सुरक्षित मानिएको जसपाको आधारभूत मत समेत कमजोर पार्न सक्ने राजनीतिक संकेत देखिएको छ । उता, मिनाक्षी ठाकुर भने आफूलाई केवल महन्थ ठाकुरकी छोरीका रूपमा सीमित नगर्न आग्रह गर्छिन् ।
अन्य दललाई अवसर
जसपाभित्रको विवादले अन्य दलहरूलाई उत्साहित बनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस अवस्थालाई अवसरका रूपमा लिँदै चुनावी गतिविधि तीव्र पारेका छन् ।
कांग्रेसले यस पटक बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ । विगतका दुई निर्वाचनमा ठाकुरलाई सहयोग गरेको कांग्रेस अहिले संगठन सुदृढीकरण र परिवर्तनको नारासहित मैदानमा उत्रिएको छ ।
एमालेबाट मनोज सिंह उम्मेदवार छन् । उनलाई भने एमालेकै नेता रामआधार कापरको बागी उम्मेदवारीले चुनौती थपेको छ । कापर संविधानसभा, प्रतिनिधिसभा र जलेश्वर नगरपालिकाको मेयर पदमा पटक पटक चुनाव लडिसकेका नेता हुन् ।
रास्वपाबाट उज्वल झा उम्मेदवार बनेका छन् । उनले पार्टीका शीर्ष नेताहरूको लोकप्रियता र पुराना दल प्रतिको जनअसन्तुष्टिलाई आफ्नो मुख्य आधार बनाएका छन् ।
यस्तै नेकपाले रामबहादुर साह सुडीलाई उम्मेदवार बनाएको छ । वामपन्थी दलहरूको गठजोडबाट बनेको नेकपा मधेशमा नयाँ राजनीतिक लहर सिर्जना गर्ने प्रयासमा देखिएको छ ।
महोत्तरी ३ मा कुल १ लाख १० हजार ४३६ मतदाता छन् । जसमा ५९ हजार ९५० पुरुष र ५० हजार ४८६ महिला मतदाता रहेका छन् । यस क्षेत्रमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।




