जनकपुरधाम । प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै धनुषा क्षेत्र नम्बर ४ पुन: चर्चाको केन्द्रमा आएको छ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले यस पटक पनि पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेपछि यहाँको प्रतिस्पर्धा थप रोचक बनेको छ ।
नेकपा एमालेले उपमहासचिव रघुवीर महासेठलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री महेन्द्र यादवलाई अघि सारेको छ । २०७४ सालदेखि निरन्तर आमने सामने हुँदै आएका यी दुई नेता यस पटक तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अघिल्ला परिणामले के भन्छ ?
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महासेठले २२ हजार ५३२ मत ल्याएर जित हात पारेका थिए । त्यसबेला कांग्रेसका यादव १९ हजार ९९१ मतसहित दोस्रो स्थानमा सीमित भएका थिए ।
२०७९ मा भने प्रतिस्पर्धा अत्यन्तै कडा रह्यो । महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत प्राप्त गरेका थिए । जम्मा १२४ मतको झिनो अन्तरले महासेठ पुन: विजयी भएका थिए । यी दुई निर्वाचनको तथ्यांकले धनुषा ४ मा एमाले र कांग्रेस बीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको स्पष्ट देखाउँछ ।
नयाँ समीकरण र ‘बालेन प्रभाव’
यद्यपि यस पटकको चुनावी समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थितिले चासो थपेको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी अभियान चलाइरहेको छ । बालेन मधेससँग सांस्कृतिक रूपमा जोडिएको व्यक्तित्व मानिने भएकाले ‘बालेन फ्याक्टर’ले मधेसको मतदातामा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठिरहेको छ ।
माघ ५ गते जनकपुरधाममा आयोजित कार्यक्रममा बालेनको उपस्थिति र मैथिली भाषामा दिएको सम्बोधनपछि रास्वपा प्रति युवा पुस्ताको आकर्षण बढेको विश्लेषण गरिएको छ । धनुषा ४ मा रास्वपाबाट राजकिशोर महतो उम्मेदवार छन् । उनी यसअघि २०७४ मा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् ।
अन्य उम्मेदवार र प्रतिस्पर्धाको स्वरूप
यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालले इन्जिनियर डा. कृष्णचन्द्र साहलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टीबाट इन्जिनियर सञ्जयकुमार महतो चुनावी मैदानमा छन् । कुल ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा १२ जना विभिन्न राजनीतिक दलका र २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
स्थानीय तहको समीकरण
धनुषा ४ अन्तर्गतका पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेसले नेतृत्व जितेको छ भने एमालेले क्षिरेश्वर नगरपालिकाको प्रमुखसहित केही महत्वपूर्ण पदमा जित निकालेको छ । ४२ वडाका वडा अध्यक्षहरूले प्राप्त गरेको मतको आधारमा कांग्रेस र एमालेको शक्ति लगभग बराबरी देखिन्छ ।
यद्यपि आन्तरिक गुटबन्दी व्यवस्थापन कांग्रेसका लागि चुनौतीका रूपमा देखिएको छ भने एमाले संगठनात्मक रूपमा तुलनात्मक रूपमा एकीकृत देखिन्छ । अघिल्ला निर्वाचन परिणामका आधारमा रघुवीर महासेठ बलिया उम्मेदवारका रूपमा देखिएपनि महेन्द्र यादवको मत आधार कमजोर छैन ।
त्यसमाथि रास्वपाको सम्भावित प्रभावले अन्तिम परिणाममा कस्तो असर पार्छ भन्ने विषय अहिलेको प्रमुख चासो बनेको छ । धनुषा ४ मा परम्परागत प्रतिस्पर्धा, नयाँ राजनीतिक लहर र स्थानीय संगठनात्मक समीकरण बीचको संघर्षले यस पटकको चुनावी नतिजा रोचक बन्ने संकेत देखिएको छ ।




