जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट ४५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाम समेत समेटिएको यस क्षेत्रमा तीन जना निवर्तमान प्रतिनिधिसभा सदस्यबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमालेबाट जुली कुमारी महतो (महासेठ), नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा उम्मेदवार छन् । महतो र निधि पूर्वमन्त्री समेत हुन् । २०७९ को निर्वाचनमा महतो यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने निधि र झा समानुपातिकतर्फबाट सांसद बनेका थिए ।
यस निर्वाचन क्षेत्रमा जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये १७ वडा, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सबै वडा तथा विदेह नगरपालिकाको एक वडा गरी कुल ३८ वडा पर्छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचन परिणामअनुसार ३८ वडामध्ये १८ वडामा नेपाली कांग्रेस, १० वडामा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए भने बाँकी वडामा अन्य दलका प्रतिनिधि छन् ।
जनकपुरधामका प्रमुख र उपप्रमुख, धनौजी गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगराइन नगरपालिकाका प्रमुख कांग्रेसबाट निर्वाचित छन् । नगराइनका उपप्रमुख एमालेबाट र मुखियापट्टी मुसहरनियाँका अध्यक्ष–उपाध्यक्ष जसपा नेपालबाट निर्वाचित भएका थिए ।
संगठनात्मक आधारमा कांग्रेस र एमाले बलियो देखिए पनि पछिल्लो समय मधेस प्रदेशमा देखिएको युवा पुस्ताको आन्दोलन र नयाँ राजनीतिक तरंगले रास्वपाको प्रभावसमेत बढेको विश्लेषण भइरहेको छ ।
काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह रास्वपामा प्रवेश गरेपछि मधेस क्षेत्रमा उक्त दलको उपस्थिति थप चर्चामा आएको छ । यद्यपि, रास्वपाको संगठन संरचना वडास्तरसम्म सुदृढ भइनसकेको अवस्था रहेको देखिन्छ ।
धनुषा ३ बाट नेकपा, राप्रपा, जसपा नेपाल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाललगायतका दलका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले भने रास्वपाका उम्मेदवारलाई समर्थन गर्दै दल परिवर्तन गरिसकेको जानकारी दिइएको छ ।
यसैगरी, स्वतन्त्रतर्फबाट पनि विभिन्न उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा १६ जना राजनीतिक दलका र २९ जना स्वतन्त्र उम्मेदवार गरी कुल ४५ जना प्रतिस्पर्धामा छन् ।
अघिल्लो निर्वाचन इतिहास हेर्दा २०७९ मा एमालेकी जुली महतो निर्वाचित भएकी थिइन् । त्यसअघि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपालका राजेन्द्र महतो विजयी भएका थिए भने २०७० मा कांग्रेसका निधिले जीत हात पारेका थिए ।
२०७९ को निर्वाचनमा महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई ९ हजार ७०२ मतान्तरले पराजित गरेकी थिइन् । २०७४ मा भने राजेन्द्र महतोले निधिलाई २ हजार ९०३ मतान्तरले हराएका थिए ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख २५ हजार ९२७ जना मतदाता रहेका छन् । यस पटकको निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धाले चुनावी समीकरण कस्तो बन्ला भन्ने चासो बढेको छ ।




