सञ्चारको संसार आज प्रविधिसँगै तीव्र गतिमा बदलिएको छ । सूचनाको बाढी बीच सत्यको खोज झन् कठिन बन्दै गएको छ । यस्तै परिवेशमा जन्मिएको हाम्रो अभियान – तराई अनलाइन डट कम (teraionline.com.np) आज पाँच वर्षको यात्रा पार गर्दै आत्मविश्वासका साथ छैटौं वर्षमा प्रवेश गरेको छ ।
२०७७ साल फागुन ४ गते, सरस्वती पूजाको शुभ दिन, सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको संकल्पसहित तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. को सुरुवात भएको थियो । त्यो केवल एउटा डिजिटल प्लेटफर्मको स्थापना थिएन, त्यो थियो जिम्मेवार पत्रकारिताको वाचा ।
पाँच वर्षको यात्रामा हामीले अनेक आरोह अवरोह पार गरेका छौं । कहिले उत्साह, कहिले दबाब, कहिले प्रशंसा त कहिले आलोचना यी सबैले हाम्रो अनुभवलाई परिपक्व बनाएका छन् । हामीले महसुस गरेका छौं, पत्रकारितामा टिकिरहनु केवल सामाग्री प्रकाशन गर्नु होइन, विश्वास निर्माण गर्नु हो । पाठकहरूको भरोसा नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।
डिजिटल युगमा गलत सूचना र हल्लाहरू तीव्र रूपमा फैलिरहेका बेला हाम्रो जिम्मेवारी अझ बढेको छ । त्यसैले छैटौं वर्षमा प्रवेश गर्दै हामी अझ जिम्मेवार, अझ सचेत र अझ प्रतिबद्ध भएर अघि बढ्नेछौं । अनुसन्धानमूलक पत्रकारिता, तथ्य जाँचमा कडाइ, सामाजिक उत्तरदायित्व र समावेशी दृष्टिकोण यी हाम्रो यात्राका मूल आधार रहनेछन् ।
हामी पत्रकारितालाई केवल व्यवसायका रूपमा हेर्दैनौं । यो समाज प्रति हाम्रो उत्तरदायित्व हो । सत्ता र शक्तिसँग प्रश्न गर्नु, नागरिकको आवाजलाई स्थान दिनु र सार्वजनिक सरोकारका विषयलाई प्राथमिकता दिनु हाम्रो दायित्व हो । यस बाटोमा हामी कुनै दबाब वा प्रलोभनमा नझुकी अघि बढ्ने प्रण गर्दछौं ।
यो यात्रा एक्लै सम्भव थिएन । हामीलाई साथ दिने पाठक, शुभेच्छुक, सहकर्मी र आलोचक सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौं । तपाईंहरूको सुझाव, आलोचना र मार्गदर्शनले नै हामीलाई परिष्कृत बनाएको छ ।
छैटौं वर्षको दैलोमा उभिँदै हामी फेरि एक पटक प्रतिबद्धता जनाउँछौं – सत्य, निष्पक्ष र निर्भीक पत्रकारिताको मार्गबाट हामी विचलित हुने छैनौं ।
हामीलाई माया गर्नुहोस् ।
आवश्यक परे गाली गर्न पनि नहिच्किचाउनुहोस् ।
धन्यवाद ।
रोशन पोखरेल
संस्थापक एवम् सम्पादक
Terai Online Media & Technology Pvt. Ltd.
roshanpokhrel64@gmail.com
WhatsApp/Viber: 9845562781




