काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर, धनकुटा र ललितपुरबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिका २ चुनियाबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ३८ किलोग्रामसहित कैलाश गाउँपालिका १० बस्ने २७ वर्षीय राम बहादुर मोक्तान समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको लु १ च २१५२ नम्बरको बोलेरो गाडी र बा प्र ०३-००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका ७ गर्जुवास्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ किलोग्रामसहित सोही गाउँपालिका ७ बस्ने ३३ वर्षीय प्रकाश राई समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यसैगरी ललितपुरको बाग्मती गाउँपालिका ३ छपेलीबाट करिब १ सय ५० किलोग्राम गाँजासहित मकवानपुर हेटौंडा बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय नगेन्द्र श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना ३ च ४०५ नम्बरको हात्ती गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




