काठमाडौं । ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सर्लाही र दाङमा भएको छुट्टाछुट्टै दुई घटनामा परेरे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना ३० वर्षीय युवा पनि रहेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका १ नागमन्दिर नजिक ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो । ज १ त ४५२० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी दाङको राजपुर गाउँपालिका ४ मोतीपुरमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । रोहिनियाबाट मोतीपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरबाट खसेर सोही गाउँपालिका ४ रोहिनिया बस्ने ४५ वर्षीय हरि प्रसाद चौधरीको मृत्यु भएको हो ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




