काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका क्रममा देशका केही जिल्लाका मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् । दार्चुला, दाङ र ओखलढुङ्गाका केही केन्द्रमा स्थानीयले आफ्ना माग सम्बोधन नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नहुँदा ती स्थानमा मतदान कार्य प्रभावित भएको छ ।
दार्चुलाका दुई केन्द्रमा शून्य मतदान
दार्चुलाको नौगाढ गाउँपालिका १ नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल गाउँपालिका ३ स्थित दुधिलाको झुक्सु मतदान केन्द्रमा बिहानदेखि मतदाता उपस्थित भएका छैनन् ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार ६०२ मतदाता रहेको गौरीशंकर केन्द्र र ३४६ मतदाता रहेको झुक्सु केन्द्रमा सुरक्षासहित सबै तयारी पूरा भएपनि एक जना पनि मतदान गर्न आएका छैनन् । स्थानीयले ‘नो भोट’ भन्दै विरोध जनाएको सुनिए पनि स्पष्ट कारण भने खुल्न सकेको छैन । कर्मचारीहरू मतदाताको आगमनको प्रतीक्षामा रहेका छन् ।
दाङमा बस्ती स्थानान्तरणको माग
दाङको बबई गाउँपालिका १ स्थित जनता माध्यमिक विद्यालय जिला र वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई मतदान केन्द्रमा पनि मतदाताहरू मतदानमा सहभागी भएनन् ।
बस्ती स्थानान्तरणको माग सम्बोधन नभएको भन्दै स्थानीयले यसअघि नै मतदान बहिष्कार गर्ने घोषणा गरेका थिए । मतदान सुरु भएदेखि सुरक्षाकर्मी र कर्मचारी तयारी अवस्थामा रहेपनि ती केन्द्रमा अहिलेसम्म एक मत पनि खस्न सकेको छैन ।
ओखलढुङ्गामा अस्पताल निर्माणको माग
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित टोक्सेल मतदान केन्द्रमा ७०१ जना मतदाता रहेपनि सामूहिक बहिष्कार गरिएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माण गर्ने आश्वासन दिएपनि काम सुरु नभएको विरोधमा स्थानीय मतदानमा सहभागी नभएका हुन् ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले उक्त केन्द्रमा मतदाता नदेखिएको जानकारी दिँदै यस विषयमा निर्वाचन आयोगलाई अवगत गराइएको बताए । साँझसम्म पनि मतदान नभए कर्मचारीहरूले समानुपातिकतर्फको मत मुचुल्का उठाएर प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।




