वीरगंज । छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारबाबू देवान वैवाहिक लेनदेन (दाइजो) सम्बन्धी कसूरमा काठमाडौंमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
पक्राउ परेका प्रप्रअ देवान रौतहटको कटहरिया नगरपालिका २ निवासी डा. मोहम्मद ओजिर देवानका जेठा दाजु हुन् । डा. ओजिरविरुद्ध यस अघि नै वैवाहिक लेनदेन गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ भने उनी हाल फरार छन् । उनी वीर अस्पतालमा कार्यरत रहेको बताइएको छ ।
प्रहरीका अनुसार डा. ओजिरले गत मङ्सिर १४ गते एक युवतीसँग कानूनी विवाह गरेका थिए । त्यसपछि सामाजिक परम्परा अनुसार विवाहको तयारी भइरहेका बेला दाइजोको विषयमा विवाद उत्पन्न भएको र त्यसपछि उनी सम्पर्कविहीन बनेको युवतीले उजूरीमा उल्लेख गरेकी छन् ।
उजूरी अनुसार ती युवती कतारमा कार्यरत थिइन् र उनीहरूबीच सात वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । विवाहपछि उनीहरू काठमाडौंमा सँगै बस्दै आएका थिए । विवाह अघि फर्निचर र कपडाका लागि भन्दै युवतीले बैंक खातामार्फत चार लाख रुपैयाँ दिएको पनि सोही जाहेरीमा उल्लेख छ ।
पछि डा. ओजिरका दाजु केदारबाबू देवान रौतहटबाट काठमाडौं गएर युवतीसँग भेट गरी भाइको मेडिकल पढाइमा लागेको खर्च तिर्नुपर्ने, स्कार्पियो गाडी र २० लाख रुपैयाँ दिनुपर्ने माग राखेको आरोप लगाइएको छ । सोही विवादपछि युवतीले प्रहरीमा उजूरी दिएकी हुन् ।
प्रहरीले देवान दाजुभाइविरुद्ध वैवाहिक लेनदेन सम्बन्धी कसूरमा हिजो जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका केदारबाबूले बयानका क्रममा आफूले दाइजो नमागेको दाबी गरेका छन् । यसैबीच, स्रोतका अनुसार दुवै जनाविरुद्ध वैवाहिक बलात्कार सम्बन्धी आरोपमा समेत उजूरी परेको छ र सो विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।






