काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका २ गठ्ठाघर बस्ने, सप्तरी कञ्चनरूप नगरपालिका १२ घर भएका २६ वर्षीय विवेक रेग्मी रहेका छन् । साथै ललितपुर महालक्ष्मी नगरपालिका २ बालकुमारी बस्दै आएका भारत तेलंगाना, हैदरावादका ३९ वर्षीय हुसेन सैयद र ४४ वर्षीय साजिद ओमर सैयद पनि पक्राउ परेका छन् ।
त्यसैगरी भारत तेलंगाना, हैदरावाद चारमिनार क्षेत्रका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र कुकटपल्ली क्षेत्रका ४२ वर्षीय समादा गिरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १० थापा गाउँ लाखेचौर मार्गस्थित ‘सिर्तेल होलिडेज प्रा.लि.’ नामक ट्राभल एजेन्सी सञ्चालन गरी उनीहरूले सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।
विभिन्न मोबाइल नम्बरबाट फोन गरी “ट्राभल लोटरी परेको” भन्दै युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा सस्तो दरमा भ्रमण गराइदिने प्रलोभन देखाएर रकम उठाइने गरेको खुलेको छ ।
यसरी विश्वास दिलाई पीडितहरूबाट रकम लिइए पनि न त भ्रमण गराइएको थियो, न त पैसा फिर्ता गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले हालसम्म ३२८ जनाबाट करिब २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट नगद ७ लाख रुपैयाँ, एक थान कम्प्युटर, एक ल्यापटप, एक ट्याब, विभिन्न पाँच थान छाप, तीन थान रिसिप्ट प्याड तथा विभिन्न व्यक्तिको विवरणसहितका ५ हजार ७५ थान कुपन अर्धकट्टी बरामद गरेको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






