काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका ७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका १६ बस्ने ४३ वर्षीया उमा गुरूङ रहेका छन् ।
यस्तै ललितपुर महानगरपालिका ७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका ४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९९ हजार रूपैयाँ, उमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।
यस्तै आशिषले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपैयाँ र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमा र संगितालाई काठमाडौं महानगरपालिका १२ बाट तथा आशिषलाई काठमाडौं महानगरपालिका १० बाट आइतबार पक्राउ गरेको हो ।
साथै अर्जुनलाई काठमाडौं महानगरपालिका ४ बाट र डिल्लीलाई काठमाडौं महानगरपालिका ९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






