काठमाडौं । मधेश प्रदेश सरकारले आर्थिक ऐन, २०८३ मार्फत सवारी साधनको वार्षिक कर, दर्ता दस्तुर, नामसारी तथा नवीकरण शुल्कमा नयाँ व्यवस्था लागू गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको ऐनअनुसार निजी तथा सार्वजनिक सवारी साधनका लागि इन्जिन क्षमताअनुसार फरक–फरक कर निर्धारण गरिएको छ भने सार्वजनिक तथा भाडाका विद्युतीय सवारी साधनलाई ५० प्रतिशत कर छुट दिने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार निजी कार, जिप, भ्यान तथा माइक्रोबसको वार्षिक कर १,००० सिसीसम्मका सवारीका लागि २२ हजार रुपैयाँ कायम गरिएको छ । १,००१ देखि १,५०० सिसीसम्मका लागि २५ हजार रुपैयाँ, १,५०१ देखि २,००० सिसीसम्म २७ हजार रुपैयाँ, २,००१ देखि २,५०० सिसीसम्म ३७ हजार रुपैयाँ, २,५०१ देखि ३,००० सिसीसम्म ५० हजार रुपैयाँ तथा ३,००१ सिसीभन्दा माथिका सवारीका लागि ६० हजार रुपैयाँ वार्षिक कर तोकिएको छ ।
मोटरसाइकलतर्फ १२५ सिसीसम्मका लागि ३ हजार रुपैयाँ, १२५–१६० सिसीसम्म ५ हजार रुपैयाँ, १६०–२५० सिसीसम्म ६ हजार ५०० रुपैयाँ, २५०–४०० सिसीसम्म ११ हजार रुपैयाँ तथा ४०० सिसीभन्दा माथिका मोटरसाइकलका लागि २० हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ ।
हेभी तथा निर्माण उपकरणअन्तर्गत डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर तथा क्रेनका लागि ४० हजार रुपैयाँ, मिनी इक्विपमेन्टका लागि ३० हजार रुपैयाँ, ट्र्याक्टरका लागि ५ हजार ५०० रुपैयाँ, पावर टिलरका लागि ४ हजार ५०० रुपैयाँ, अटो रिक्सा, श्री हीलर र टेम्पोका लागि ४ हजार रुपैयाँ, मिनिट्रक तथा मिनिबसका लागि २७ हजार रुपैयाँ र ट्रक, बस तथा ट्याङ्करका लागि ३५ हजार रुपैयाँ कर तोकिएको छ ।
सार्वजनिक सवारी साधनतर्फ भने निजीभन्दा कम दर कायम गरिएको छ । १,००० सिसीसम्मका कार, जिप, भ्यान तथा माइक्रोबसका लागि ११ हजार रुपैयाँदेखि ३,००० सिसीभन्दा माथिका सवारीका लागि २० हजार रुपैयाँसम्म वार्षिक कर निर्धारण गरिएको छ ।
ट्रिपर, डोजर, एक्साभेटर, लोडर, रोलर तथा क्रेनका लागि २१ हजार रुपैयाँ, ट्रक, बस, ट्याङ्कर तथा ग्यास बुलेटका लागि २० हजार रुपैयाँ तथा मिनिट्रक र मिनिबसका लागि १५ हजार ५०० रुपैयाँ कर तोकिएको छ ।
ऐनले सार्वजनिक तथा भाडाका विद्युतीय सवारी साधनमा ५० प्रतिशत कर छुट दिने विशेष व्यवस्था गरेको छ । यसले वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति झल्काएको छ ।
यस्तै, नयाँ दर्ता, सरुवा सहमति तथा लिलामी दर्ताका लागि ठूला सवारीमा १ हजार ५०० रुपैयाँ, मझौला र साना सवारीमा १ हजार रुपैयाँ तथा निजी मोटरसाइकल/स्कुटरमा ५०० रुपैयाँ दर्ता दस्तुर तोकिएको छ ।
सवारी नामसारी गर्दा ठूला सवारीका लागि १ हजार रुपैयाँ, मझौला सवारीका लागि ८०० रुपैयाँ र साना सवारीका लागि ७०० रुपैयाँ शुल्क लाग्नेछ । विदेशमा दर्ता भएका सवारी साधन नेपालमा चलाउन अनुमति लिँदा ठूला तथा मझौला सवारीका लागि १ हजार ५०० रुपैयाँ र साना सवारीका लागि ५०० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।
आर्थिक ऐन, २०८३ ले पैठारी भई पहिलो पटक दर्ता हुने सवारीको मूल्य निर्धारण भन्सार कार्यालयले कायम गरेको मूल्य तथा लागेका सम्पूर्ण महसुलका आधारमा हुने तथा बिक्रीका क्रममा मूल्य अभिवृद्धि कर (भ्याट) सहितको मूल्यलाई आधार मानिने व्यवस्था समेत गरेको छ ।






