काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको छ । १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए ।
तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए । शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ । गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।
तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । गायिकाले करिब ३ महिनायता गीत संगीतमा ध्यान दिन नसकेको र यस बारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ ।
पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए । त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ ।
शाहले देखावटी माया प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरे जस्तो गर्दै आएको उजुरीमा उल्लेख छ । यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ ।
बागलुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेस थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेको र यात्राका क्रममा शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ ।
यसअघि पोखरा स्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक पटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन् । गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाब दिएको उल्लेख छ ।
नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन् ।




