काठमाडौं । अभिनेता पल शाहले आफूलाई बलात्कार मुद्दामा फसाउन आफ्नै म्यानेजरसहितका चार जना व्यक्तिले षड्यन्त्र गरेको आरोप लगाएका छन् । आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरू भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईंको नाम उल्लेख गरेका छन् ।
‘गायिका …लाई प्रयोग गरेर नियोजित ढंगले षड्यन्त्र गर्ने ति व्यक्तिहरूको नाम यस प्रकार रहेको छ’ भन्दै पलले थापा, ओली, जोशी र चौलागाईंको नाम उल्लेख गरेका हुन् । जोशी पलका म्यानेजर हुन् भने चर्चित गायक थापा उनका मिल्ने साथी ।
पलले केही दिनअघि सार्वजनिक भएकाे अडियो क्लिपमा गायिकाले आफूमाथि लगाएका सबै आराेपहरू सत्य नरहेकाे जिकिर गरेका छन् । ‘सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ति सबै नियोजित र षड्यन्त्रपूर्ण ढंगले ममाथि प्रहार गरिएको छ’, शाहले भनेका छन् ।
उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, दुई वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि एक वर्षपछि मात्रै गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको भनि लगाइएका सबै आरोप गलत रहेको बताएका हुन् ।
पलले थप ६ वटा अडियो सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई ठीक र बेठीक छुट्याउन आग्रह गरेका छन् । आफूमाथि लागेका आरोप प्रमाणित भए नेपालको कानुन अनुसार सजाय भोग्न तयार रहेको पनि उनले बताएका छन् ।
बुधबार एक गायिकालाई बलात्कार गरेको आरोपमा पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उनका बुबाले जाहेरी दिएका थिए । जाहेरी दर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले पक्राउको तयारी गरेका बेला पलले सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन् ।




