काठमाडौं । प्रेस काउन्सिल नेपालले दुई वटा अनलाइनलाई कालोसूचीमा राखेको छ । आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले नेपाल आज डटकम र सगरमाथा खबर डटकमलाई कालोसूचीमा राखेको हो ।
नेपाल आजले पटक पटक व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेख्ने गरेको, खण्डन प्रकाशन गर्न दिइएको निर्देशन पालना नगरेको, सचेत र ध्यानाकर्षण गराउँदा पनि सुधार नआएपछि काउन्सिलले कालोसूचीमा राखेको हो ।
त्यस्तै सगरमाथा खबरलाई भने निर्देशनहरू अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार चालु आर्थिक वर्षको फागुन १२ गतेसम्म मिडियाविरूद्ध १३२ वटा उजुरी, आठ वटा जनगुनासो दर्ता भएको छ ।





