काठमाडौं । विश्वव्यापी महामारीका रूपमा देखा परेका कोभिड-१९ संक्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ ।
कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको थियो । पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी संक्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ ।
पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोनाका कारण मुत्यु भएको छ । नेपालमा कुल संक्रमितको १.२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेरसमूहका व्यक्तिले ज्यान गुमाएका छन् ।
सो उमेर समूहका २ हजार ५०१ को संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका २ हजार ३७५, ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार २९३ र ४० देखि ५० वर्ष उमेर समूहका १ हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ८० वर्षभन्दा माथि उमेर समूहका १ हजार ६३७, ३० देखि ३९ वर्ष उमेर समूहका ९३६, २० देखि २९ वर्ष उमेर समूहका ३७९, ९ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा ८ हजार ६२८ नमूना परीक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ४५२ नमूनाको पिसीआर परीक्षण गर्दा १५८ र ३ हजार १७६ नमूनाको एन्टिजेन परीक्षणमा ११७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ९ लाख ५५ हजार ४५८ जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेको छ । शुक्रबार देशभरका खोप केन्द्रमार्फत १ लाख २२ हजार ४९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म १० लाख ५६ हजार ७७२ ले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । नेपालमा १ करोड ७३ लाख ६ हजार ६४२ पूर्ण मात्रा, १ करोड ८४ लाख ५० हजार ७०९ पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।




