एजेन्सी । भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिकको सम्बन्धविच्छेद बारे हल्ला चलिरहेको छ । भारतीय सञ्चारमाध्य बलिउड लाइफका अनुसार उनीहरू अलग अलग बस्दै आएका छन् । सानियाले दुबईको घर छाडेकी छन् ।
यसैबीच उनीहरूको सम्बन्धविच्छेदको हल्ला फैलिएको हो । तर यस विषयमा उनीहरूले केही खुलाएका छैनन् । दुवै जना मौन बस्दा उनीहरूबीच खटपट भएको कुरालाई अझ बल पुगेको छ ।
सानिया आफैले पनि आफ्नो वैवाहिक जीवनमा सबै ठीक नभएको संकेत गर्दै क्याप्सन लेखिरहेकी छन् । केही दिन अगाडि सानियाले छोरा इजहानसँग एक तस्बिर सेयर गर्दै लेखिन्, ‘टुटेको मन कहाँ जान्छ र ?’
उनको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भयो । सानिया र शोएबको विवाह हुँदा निकै चर्चा भएको थियो । उनीहरूको विवाहलाई दुई देशबीच सम्बन्धको रुपमा हेरिएको थियो ।
विवाहको १२ वर्षपछि सम्बन्धविच्छेदको खबर बाहिरिँदा प्रशंसकहरू दुःखी भएका छन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार शोएब आयशा ओमरसँग डेट गरिरहेका छन् । आयशा पाकिस्तानी अभिनेत्री तथा मोडल हुन् ।
शोएबले आफ्नो इन्स्टाग्राममा आयशासँगको तस्बिर पोस्ट गरेका थिए । जसमा उनले आयशालाई आफ्नो साथी भनेर सम्बोधन गरेका थिए । उनीहरूको निकटताले सबै आश्चर्यमा परेका थिए ।
सानिया र शोएबबीच कानुनी प्रक्रिया मिलिसकेपछि आफ्नो निर्णयको घोषणा गर्ने भारतीय सञ्चार माध्यममा उल्लेख छ । सानिया र शोएबको एक छोरा छन् । ६ महिना डेट गरेपछि सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए ।




