बीबीसी । भारतले सहयोगस्वरूप दिने घोषणा गरेको मुर्रा जातका राँगाहरू एक-डेढ महिनाभित्र नेपाल आइपुग्ने नेपाली अधिकारीहरूले बताएका छन् । ती राँगा नेपाल ल्याउनुअघि प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिकलाई भारत पठाउने तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै गरिए पनि अहिले आएर त्यो सफल भएकोमा पशु विकास अधिकारीहरू उत्साहित देखिएका छन् । यसै महिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतले सहयोगस्वरूप १५ वटा राँगा दिने घोषणा गरेको हो ।
भारतले दिने घोषणा गरेको मुर्रा जातिको राँगाको चर्चा हुने क्रम भने अझै जारी छ । स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डले भारतबाट ल्याउन खोजिएको मुर्रा भैँसी नभई राँगा भएको भनेर सदनमा स्पष्टीकरण नै दिए । यसअघि भारतबाट नेपालले भैँसी उपहार ल्याउन लागेको भन्दै विभिन्न टीकाटिप्पणी भएका थिए ।
के छ सरकारी योजना ?
नस्ल सुधार र विकासका लागि भारतबाट मुर्रा राँगा ल्याउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ । पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालका अनुसार भारतले दिने मुर्रा राँगा सम्भवतः स्थलमार्गबाट ल्याइने छ ।
ती राँगा भारतीय पक्षले नेपाल-भारत सीमासम्म ल्याइदिने कुरा छ । भारतीय मुर्रा राँगाहरूबाट तीन वर्षपश्चात् वार्षिक डेढ लाख मात्रा वीर्य सङ्कलन गरी कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराउने सरकारी योजना छ ।
ढकालका अनुसार भारतबाट ल्याइने मुर्रा राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालयहरू लाहान र पोखरामा राख्ने योजना छ । “आवश्यकता अनुसार केहीलाई अर्को प्रजनन कार्यालयमा पनि राख्न सकिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने ।
ढकालका अनुसार प्रजनन कार्यालयहरूमा केही समय राखेर परीक्षण गरिएपछि ती राँगाबाट बल्ल वीर्य सङ्कलन गर्न थालिने छ । “त्यसपछि देशभरि भैँसीहरूमा कृत्रिम गर्भाधानका लागि त्यसको प्रयोग गरिने छ,” उनले थपे ।
मुर्रा राँगा र भैँसीका विशेषता के हुन् ?
नेपाल कृषि अनुसन्धान परिषद्का पूर्वप्रमुख चेतराज उप्रेतीका अनुसार नेपालमा अहिले दुई जातका भैँसीहरू पाइन्छन् । रैथाने र आयातित उन्नत गरी दुई जातका भैँसी पाइन्छन् । स्थानीय भैँसीमा लिमे, पारकोटे, तराई, गड्डी जातका भैँसी रहेका छन् ।
“स्थानीय हावापानीमा राम्ररी हुर्किन सक्ने भए पनि रैथाने जातका भैँसीहरूले धेरै दूध दिँदैनन्,” उनले भने । ढकालका अनुसार नेपालमा अहिले ५२ लाखको हाराहारीमा भैँसी रहेको सरकारी तथ्याङ्क रहेकोमा त्यसको ५३ प्रतिशत जति मुर्रा जातका छन् ।
भारतले दिन लागेको “उच्च प्रजननमान” का मुर्रा राँगा किनेर पाउन मुस्किल हुने उनी बताउँछन् । “नेपालमा हुने स्थानीय जातको भैँसीले एक बेतमा सरदर ८०० लिटर दूध दिन्छ भने भारतमा मुर्रा भैँसीको औसत दूध उत्पादन प्रतिबेत २,५०० लिटरभन्दा बढी देखिएको छ,” विशेषता बारे उनले थपे ।
वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार नेपाल ल्याउन लागिएका उच्च प्रजननमानका मुर्रा राँगाहरू “उत्कृष्टमध्ये उत्कृष्ट” रहेका छन् । “औसतमा प्रतिबेत ४,००० लिटरभन्दा बढी दूध भएका भैँसीका राँगा छान्न लागिएको हो,” उनले भने ।
भारतमै किसानहरूले एउटा मुर्रा भैँसी दुई-तीन लाख भारुसम्म किनबेच गर्ने गरेका विवरण सुन्ने गरिएको ढकाल बताउँछन् । “नेपालमै पाइने मुर्रा भैँसी दूध उत्पादनको हिसाबले तीन-चार लाख रुपैयाँसम्ममा पनि खरिदबिक्री हुने गरेको सुनिन्छ,” उनले भने ।
दूधमा हुने ठोस पदार्थका आधारमा पनि मुर्रा जातका भैँसीहरू उत्कृष्ट रहेको नार्कका पूर्वप्रमुख उप्रेती बताउँछन् । “मुर्रा भैँसीको दूधमा ६ देखि ८ प्रतिशत फ्याट (चिल्लो पदार्थ) र ८ प्रतिशतभन्दा बढी एसएनएफ (सोलिड्स-नट-फ्याट) अर्थात् चिल्लो तत्त्वबाहेकको ठोस पदार्थ पाइन्छ,” उनले थपे । “दूधको मूल्य यिनै दुई तत्त्वको आधारमा निर्धारण हुने गरेको छ ।”
‘विशेष हेरचाह’
पशु विकास अधिकारीहरूका अनुसार नस्ल सुधारका लागि प्रयोग गरिने राँगा वा साँढेहरूलाई विशेष किसिमले पालिन्छ । “तिनीहरूको आहारा लगायतका कुरामा विशेष ध्यान दिइन्छ । तिनीहरूको वीर्य र शारीरिक तौलका आधारमा आहारा दिइन्छ,”ढकालले भने ।
“घाँस, पराल र दाना दिइनुका साथै वीर्य सङ्कलनका बेला क्याल्सिअम, फस्फरस सुई पनि दिइन्छ ।” उप्रेतीका अनुसार प्रजनन केन्द्रमा एउटा राँगाबाट हप्तामा तीन पटकसम्म वीर्य सङ्कलन गर्ने गरिन्छ ।
“त्यसपछि प्रशोधन गरिन्छ र वीर्यलाई तरल नाइट्रोजनसँग फ्रोजन अवस्थामा राखिन्छ,,” उनले भने । “प्रशोधन गरिएको वीर्य लामो समयसम्म ठूलाठूला ‘मदर कन्टेनर’ मा राखिन्छ । सानोसानो फ्रिजमा पनि राखेर कृत्रिम गर्भाधानका लागि विभिन्न ठाउँमा पुर्याइन्छ ।”
दानामा आवश्यक मात्रामा खनिज तत्त्व उपलब्ध नहुन सक्ने भएकोले अतिरिक्त पोषक तत्त्व पनि दिने गरिएको उनी बताउँछन् । “एउटा राँगा तीन वर्षको उमेरमा वयस्क हुन्छ । आठ वर्षको उमेरसम्म स्वस्थ खालको वीर्य उत्पादन हुन्छ,” उप्रेतीले थपे ।




