काठमाडौं । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका ३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको छ । अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् ।
‘अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौं,’ स्थानीय श्यामबहादुर राईले भने । लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिंगरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंगरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले दुवै अजिंगरलाई निकुञ्जको ‘कोर एरिया’मा छाडिएको जानकारी दिए । ‘अजिंगर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौं,’ पौडेलले भने । रासस




