काठमाडौं । मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षाको मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ ।
झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै, चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१.६ मिलिमिटर वर्षा भएको छ । धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ ।
यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ । त्यसैले यी जिल्ला भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जानकारी दिएको छ । नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




