काठमाडौं । ११ महिनादेखि तलब नपाएको भन्दै सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाका १ सय ९२ कर्मचारीले प्रदर्शन गरेका छन् ।
विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलब भत्ताको व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने माग गर्दै उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
वन रोयल्टीमा वृद्धि सूत्रका कारण आयतनमा वृद्धि र समितिको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने र वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्ने लगायतका माग गर्दै कर्मचारीहरूले गत एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् ।
सङ्घर्ष समितिका अध्यक्ष छत्रबहादुर लामाले लामो समय तलब नपाएकोमा पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्नु परेको बताए ।




