काठमाडौं । आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम रहेको छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान ठूलो पानी परेको काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर, आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।




