धनुषा । धनुषाको ५ वटा पालिकालाई सेवा दिने गरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
जनकपुरधामको विकासमा अवरोध खडा गर्ने गरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोत विरुद्धको संघर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।
गोप्य रुपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरुलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिए ।
प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जाम समेत गरेका छन् ।
२०७२ साल असोज १४ गते मन्त्रीपरिषद्को निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्ने गरी मिथिला नगरपालिकास्थित ढल्केवरमा कार्यालय सार्न लागिएको हो ।
सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ ।
यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्ने गरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ ।




