रौतहट । रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो । रौतहटको वृन्दावन नगरपालिका १ विश्रामपुरमा करिव दुई बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा स्थानीय हुलास बैठकी करिव १३ वर्षकी छोरी निरञ्जनकुमारी बैठाको डुबेर मृत्यु भएको हो ।
पोखरीमा नुहाउने क्रममा अचानक पानीमा डुबेको र पानीबाट ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सशस्त्र सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक यमबहादुर वलीको नेतृत्वमा घटनास्थलमा पुगेको ९ जनाको टोलीले पोखरीमा खोजतलास गर्ने क्रममा बालिकाको शव फेला पारेको थियो ।
बालिकाको शवलाई पोस्टमार्टमका लागि प्रक्रिया पूरा गरिएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।




