चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किँएका थिए ।
दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । दुर्घटनापश्चात राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुई तर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।




