एजेन्सी । भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीबार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । गर्मीका कारण २० जनाभन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् ।
बिहारका विभिन्न स्थानमा बिहीबार ४४ डिग्री सेल्यिस तापक्रम मापन गरिएको छ भने ३ जिल्लामा गरी २० जनाको लू लागेका कराण मृत्यु भएको छ । यस्तै झारखण्डको पलामू जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ओडिशा राज्यमा १० जनाको गर्मीका कारण मृत्यु भएको छ ।
भारतको विभिन्न राज्यमा पछिल्लो केहीदिन यता तापक्रम उच्च स्तरमा पुगेको छ । जसका कारण विभिन्न राज्यमा रेड अलर्ट जारी गरिएको छ भने बाहिर काम गर्ने मजदुरहरूलाई गर्मीमा काम नगर्न निर्देशन दिइएको छ ।
झारखण्डको पलामूमा बिहीबार ४७ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । यस्तै भारतको राजधानी दिल्लीमा बुधबार ४२ डिग्री तापक्रम मापन गरिएको थियो भने गुजरातमा ४५ देखि ४६ डिग्री तापक्रम मापन गरिएको छ ।
राजस्थानमा गत साता मात्रै ४२ डिग्री तापक्रम पुग्दा गर्मीका कारण ५ जनाको मृत्यु भएको थियो । भारतीय मौसम विभागका अनुसार आगामी केही दिन अझै बिहारसहित देशका विभिन्न भागमा तापक्रमको स्तर बढ्ने छ ।
त्यसकारण अनावश्यक घरभन्दा बाहिर ननिस्कन र सावधानी अपनाउन विभागले आग्रह गरेको छ । अत्यधिक गर्मीकै कारण भारतका विभिन्न राज्यमा विद्यालय, कलेज तथा कार्यालयहरू पनि बन्द गरिएका छन् ।






