काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर सहायक हवल्दारद्वय महेन्द्र लामा र सञ्जय बलको ज्यान गएको हो ।
नुवाकोटको ककनीस्थित युएन तालिम शिक्षालयमा सेमु हतियार तालिममा तालिमरत उनीहरुको हिजो मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सशस्त्रका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए ।
हिजो दिउँसो सवा ३ बजे मोटरसाइकलमा शिक्षालयतर्फ फकिँदै गरेका उनीहरु काठमाडौंको तारकेश्वर नगरपालिका ३, तीनपिप्लेनेर दुर्घटनामा परेका थिए । उनीहरु सवार मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खसेको थियो ।
गम्भीर घाइते भएका उनीहरुलाई तत्काल बालाजुस्थित सिल्भर लाइन अस्पताल पुर्याइएको र उपचारका क्रममा महेन्द्रको सोही अस्पतालमा मृत्यु भएको हो ।
यता, सञ्जयलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरेको थियो । उनको चाहिँ हिजो साँझ सवा ७ बजे मृत्यु भएको बताइएको छ ।
उनीहरुको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइएको डिआइजी न्यौपानेले जानकारी दिए । तालिमरत प्रशिक्षार्थीहरुलाई मोटरसाइकलको प्रयोगमा निषेध गरिएको छ ।
समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयको निर्देशन विपरीत उनीहरुलाई मोटरसाइकल चलाउन दिएका थिए । उनले नियम विपरीत मोटरसाइकल चलाउन दिएकाले हिजोको घटना घटेको ककनीमा कार्यरत एक अधिकृतले बताए ।




