एजेन्सी । नयाँ दिल्लीको द्वारकास्थित अमराही गाउँमा बिहिबार राति एक दम्पतीमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका दम्पतीलाई नजिकैको अस्पतालमा भर्ना गरिएकोमा श्रीमान्को उपचारकै क्रममा ज्यान गएको छ ।
प्रहरीका अनुसार दुवैले गत अगस्टमा भागी विवाह गरेका थिए । केटीको परिवार उनीहरूको सम्बन्ध प्रति रुष्ट थियो । प्रहरीले ज्यान लिनुको कारण बारे अनुसन्धान थालेको जनाएको छ । मृत्यु हुनेमा शिनाख्त गोपालपुर गाउँ सोनीपत हरियाणा निवासी २३ वर्षीय विनय दहित रहेका छन् ।
उनकी श्रीमती १९ वर्षीया किरण दहिया गोली लागेर गम्भीर घाइते भएकी छन् । उनीहरू दिल्लीको अमराही गाउँमा कोठा भाडामा लिएर बस्थे । उनीहरूमाथि राति ९ बजे गोली प्रहार भएको थियो ।
प्रहरी समयमै घटनास्थल पुगेर उक्त दम्पतीलाई अस्पताल पुर्याएको भए पनि श्रीमान्को मृत्यु भइसकेको थियो । विनयलाई चार गोली लागेको थियो । किरणलाई पाँच गोली लागेको छ ।
राति करिव नौ बजे ६/७ जनाको समूहले उनीहरूमाथि गोली प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ ।






