एजेन्सी । भारतको नयाँदिल्लीस्थित जीटीबी अस्पताल (गुरु तेगबहादुर अस्पताल) मा पेटको संक्रमणको उपचार गर्न गएका एक बिरामीको गोली हानी हत्या भएको छ । आइतबार ३२ वर्षका एक बिरामीको हत्या भएको हो ।
बीबीसीका अनुसार घटनाको अनुसन्धानमा रहेको प्रहरीले अझै पनि आक्रमणकारीको पहिचान गर्न नसकेको जनाएको छ । ती बिरामीको नाम मोहम्मद रियाजुद्धिन रहेको र उनी खजुरीमा डेन्टल क्लिनिक चलाउँदै आएका थिए ।
जीटीबीको २४ नम्बर बेडमा भर्ना भएका उनलाई बहिनी र एक मेडिकल अटेन्डेन्ट साथमै रहेको बेलामा गोली हानी हत्या गरिएको बताइएको छ । आक्रमणकारीले एक्कासि गोली प्रहार गरेको र अरु दुई मानिस पनि उसको साथमा रहेको प्रहरीले जनाएको छ ।
गोली हान्ना साथै तीनै जना त्यहाँबाट भागेका थिए । हत्याकाण्डपछि आम आदमी पार्टीले दिल्लीको सुरक्षा व्यवस्थालाई लिएर भारतीय जनता पार्टी प्रति आपत्ति जनाएको छ ।






