चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ । स्थानीयले त्रिशूली बीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो कि भन्ने आशंका सुरक्षाकर्मीले गरेपनि बस भने नभएको पुष्टि गरेको हो ।
यसैबीच नौ दिनदेखि सिमलता पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएर यहाँका उद्धार टोलीलाई सहायता गरेका भारतीय उद्धार टोली आज फर्किने निश्चित भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी यादवले आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिइसकेको भएकोले टोली फर्किन लागेको हो ।
असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।
यस्तै बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । भने, त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।




