एजेन्सी । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका ४ सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेको हो ।
डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो । विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो ।
साओ पाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी आउने क्रममा रहेको जनाएको छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।
विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बिबिसी समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ ।






