काठमाडौं । अमेरिकामा अध्ययनरत एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । ह्युस्टनस्थित आफ्नो अपार्टमेण्टमा सोमबार गोली लागेर मृत भेटिएकी मुना पाण्डेलाई हत्याराले कोठाभित्रै प्रवेश गरेर गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।
मुना बसेको वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको अपार्टमेण्टमा उनलाई आफैंले जडान गरेको सर्भिलेन्स क्यामेराका फुटेजहरू प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक अनुसन्धानले उनी केही समयदेखि एक अमेरिकी युवकसँग डेटिङ्गमा रहेको देखाएको छ । यद्यपि, हत्यारा को हो भन्ने अझै पुष्टि भएको छैन ।
सार्वजनिक भएको भिडियोमा हत्याराले मुनालाई ओछ्यानमै पुगेर तीन वटा गोली हानेको देखिएको छ । सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी २१ वर्षीया मुनाको नेपालमा उनकी आमा मात्र रहेको जनाइएको छ । उनका आमा बुबाको सम्बन्ध विच्छेद भएको थियो ।
प्रहरीले मुनाको शव पोष्टमार्टमका लागि लगेको छ र रिपोर्ट आएपछि घटनाको थप विवरण सार्वजनिक गरिने बताएको छ । नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालका अनुसार, पोष्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा ल्याइनेछ र त्यसपछि परिवारको समन्वयमा एनएएच तथा स्थानीय संघसंस्थाको सहयोगमा अन्त्येष्टि गरिनेछ ।
डाक्टर नेपालले बताए अनुसार, शव हस्तान्तरण गर्न अस्पतालबाट अझै केही दिन लाग्न सक्छ । दिवंगत मुनाकी आमा नेपालबाट अमेरिका पुगेपछि मात्र अन्त्येष्टि गरिनेछ ।




