काठमाडौं । अब सरकारी अस्पतालहरूले सार्वजनिक बिदामा पनि बाहिरी सेवा (ओपीडी) सञ्चालन गर्नुपर्ने भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवस, र जन्मजयन्ती जस्ता सार्वजनिक बिदाका दिनहरूमा ओपीडी सेवा जारी राख्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार पर्व बिदामा रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, ईद, र बकर ईदको दिनहरूमा पनि सरकारी अस्पतालका ओपीडी सेवा खुला रहनेछ ।
त्यसैगरी, जात्रा बिदामा गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, र घोडेजात्राको दिन पनि ओपीडी सञ्चालन हुनेछ । सार्वजनिक दिवसहरूमा गणतन्त्र दिवस, शहीद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि ओपीडी खुला रहनेछ । जन्मजयन्ती बिदामा बुद्धजयन्ती र पृथ्वी जयन्तीका दिन पनि ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था मन्त्रालयले गरेको छ ।





