काठमाडौं । सहकारीबाट कुनै ऋण नलिएको पुष्टि हुँदा पनि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा कास्की प्रहरीले गुल्मी मुसिकोटकी ३२ वर्षीया लिला पछाईलाई ललितपुरबाट पक्राउ गरेको हो ।
लिलालाई सहकारीको ऋण लिने वा अपचलन गर्ने कुनै प्रत्यक्ष प्रमाण नभए पनि उनको बैंक खातामा तीन करोड रुपैयाँ गएको देखिएपछि उनलाई अनुसन्धानका लागि पोखरा बोलाइएको थियो । तर, बयानका लागि बोलाइएपछि प्रहरीले उनलाई त्यहीँ नियन्त्रणमा लियो ।
लिला पछाई कुनै व्यवसायिक ऋणी छैनन्, न त उनले कुनै कम्पनी खोलेकी छन् । रवि लामिछानेको जस्तो ठूलो रकमको अनियमितता पनि देखिएको छैन । प्रहरीको अनुसन्धानले लिलालाई जीबी (गितेन्द्रबाबु) राई नामका व्यक्तिसँग जोडिएको जनाएको छ ।
उनी राईको कम्पनीमा सामान्य कर्मचारीको रूपमा कार्यरत थिइन् । तर, सहकारीबाट गैरकानूनी रूपमा रकम जिबी राईको सहयोगमा उनको खातामा गएको देखिएपछि लिलालाई नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानले लिलाको नाममा पोखरामा दुईवटा घरसमेत रहेको खुलासा गरेको छ । साथै, उनी राईकी ‘प्रेमिका’ भएको आरोप पनि लगाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलनमा संलग्न रहेको आरोपमा जिबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनमा सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोडभन्दा बढी रकम बचत रहेको उल्लेख गरेको छ । लिलालाई प्रतिवादी बनाउने वा नबनाउने विषयमा प्रहरीले अझै निर्णय गरेको छैन, तर उनी ऋणी नभएकाले मुद्दा कमजोर हुने बताइएको छ ।




