काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुचित व्यापारीसँग साँठगाँठ गरी पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यो उजुरी कानुन व्यवसायी युवराज सफलले आज बिहान अख्तियारमा दर्ता गरेका हुन् ।
उजुरीमा सफलले प्रधानमन्त्री ओलीविरुद्ध छानबिनको माग गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार दान, उपहार वा चन्दा लिनु भ्रष्टाचार मानिने उल्लेख गरेका छन् । उनले प्रधानमन्त्रीले विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग मिलेर नेकपा एमालेको पार्टी कार्यालय बनाउन जग्गा र भवन निर्माणको जिम्मा गुरुङलाई दिएको आरोप लगाएका छन् । उजुरीमा उक्त कार्यलाई भ्रष्टाचारको रूपमा व्याख्या गर्दै हदैसम्मको कारबाहीको माग गरिएको छ ।
सफलको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष गुरुङसँगको साँठगाँठ बारे विस्तृत रूपमा उल्लेख गरिएको छ । उजुरीमा भनिएको छ कि २०८१ असोज २५ गते गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए, र उक्त कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए ।
सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूलाई आधार मानी उजुरीमा प्रधानमन्त्री ओलीले सरकारी सम्पत्ति दुरुपयोग गर्दै विवादास्पद व्यक्तिसँग मिलेर लाभ लिन खोजेको आरोप लगाइएको छ ।




