काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरि इन्टरपोलको रेड नोटिससहित फरार रहेका उदयपुर त्रियुगा नगरपालिका १० निवासी सुजन आचार्यलाई नेपाल फिर्ता ल्याइएको छ । इन्टरपोल शाखा, नेपाल प्रहरी तथा NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा शुक्रबार उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।
अनुसन्धानमा सुजनविरुद्ध २०७९ जेठ १३ मा विद्युतीय कारोबार मुद्दा र २०८० वैशाख २५ मा ठगी तथा आपराधिक लाभ सम्बन्धी मुद्दा समेत दर्ता भएका थिए । इन्टरपोलको पत्राचारपछि २०८१ असोज १ गते कम्बोडियामा पक्राउ परेका उनीहरूमा सुजनलाई हाल नेपाल ल्याई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ, जहाँ उनीविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।




