काठमाडौं । वैदेशिक रोजगारी ठगीको मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएर फरार रहेकी सिन्धुपाल्चोक, मान्खाकी बिनु शाक्य पक्राउ परेकी छन् । कम्बोडियाको NCB PHNOM-PENH को समन्वयमा उनलाई पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको छ, जहाँ अब उनीमाथि आवश्यक कानूनी कारबाही अघि बढाइनेछ ।
बिनु शाक्य र उदयपुर, त्रियुगा नगरपालिका-१० का सुजन आचार्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भन्दै ४० भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेका थिए । उनीहरूविरुद्ध २०८० माघ १९ गते नेपाल प्रहरीले इन्टरपोल शाखाबाट रेड नोटिस जारी गरेको थियो, जसका आधारमा उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरिएको थियो ।
नेपाल प्रहरी अपराध अनुसन्धान विभागको प्रयासपछि कम्बोडियाबाट २०८१ असोज १ गते दुवै जनालाई पक्राउ गरियो । यसअघि, सुजन आचार्यलाई गत कात्तिक ९ गते नेपाल ल्याइएको थियो, जबकि बिनु शाक्यलाई हाल नेपाल ल्याई कानूनअनुसार कारबाहीको लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।




