काठमाडौं । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मंसिर १ गते काठमाडौंमा भ्रष्टाचार, महंगी र मनपरी करको विरोधमा बृहत प्रदर्शन गर्ने भएको छ । साथै, मधेस प्रदेशका ८ जिल्लामा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।
आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले जनताको समस्या प्रति सरकार गम्भीर नभएको भन्दै राज्यको कुशासन, कर थोपर्ने प्रवृत्ति र भ्रष्टाचारविरुद्ध काठमाडौं र मधेसमा एकै दिन व्यापक विरोध प्रदर्शन र जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए ।
आजपाका अनुसार काठमाडौंको शान्तिवाटिकामा ‘सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ’ भन्ने मूल नारासहित विरोध प्रदर्शन हुनेछ । पार्टीका सचिव नारायण पाण्डेले देशको अर्थतन्त्र डगमगाएको भन्दै भ्रष्टाचार, कुशासन र युवा बेरोजगारी विरुद्धको शान्तिपूर्ण प्रदर्शनका लागि सबैलाई सहभागी हुन आह्वान गरेका छन् ।
यसैबीच, छठपर्व अघि वीरगंजमा बसेको आजपाको प्रदेश कमिटी बैठकले मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता डा. हेमप्रसाद साहले सप्तरीबाट सुरु हुने यो अभियान मधेसका प्रमुख शहरहरूमा रैली, सभा र भेला लगायतका कार्यक्रम गरी एक हप्ता लामो अभियान हुने बताए ।
पार्टीको विज्ञप्तिमा प्रवक्ता चन्द्रभुषण साहले मंसिर १ गतेको विरोध प्रदर्शन र जागरण अभियानले जनतामाथि भइरहेको अन्याय र करदाताहरू माथिको बोझ घटाउन सरकारलाई सचेत गराउने उद्देश्य रहेको जनाएका छन् ।




