काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठगी र अपराधमा संलग्नलाई कानुनी कारबाही गरेरै छाड्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनले चोरले प्रहरीलाई हप्काएजस्तो व्यवहार भइरहेको भन्दै कडा टिप्पणी गरे । शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी जस्ता कृत्यमा संलग्नले अरुलाई आरोप लगाउँदै उन्मुक्ति खोज्न नसक्ने स्पष्ट पारे ।
“उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तो व्यवहार यहाँ भइरहेको छ । सहकारी ठगीमा प्रमाणित व्यक्तिहरू अरुलाई दोषारोपण गर्दैछन् । यस्ता अपराध, अराजकता र चरित्रहत्या नेपाली समाजले स्वीकार गर्न सक्दैन । कुनै पनि प्रकारको भ्रष्टाचार, ठगी वा मानव तस्करी सह्य हुनेछैन,” उनले भने ।
प्रधानमन्त्रीले एमाले नेतृत्वको सरकारले अपराधमा संलग्नलाई अनुहार हेरेर छुट नदिने र जोसुकैलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता दोहोर्याए । आफूमाथि लागेका आरोपहरू फाल्तु रहेको भन्दै उनले त्यसमा प्रतिक्रिया दिन समय खेर फाल्न नचाहेको बताए । “यस्ता निराधार आरोपहरूको कुनै अर्थ छैन,” उनले थपे ।




