काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका ९ का ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका ७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका ३ का ४१ वर्षीय कार्त्तिकलाल राजवंशी छन् ।
रविनले अष्ट्रेलिया पठाइदिन्छु भनी १ लाख रुपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भनी ३ लाख रुपैयाँ र कार्त्तिकले अल्बानिया पठाइदिन्छु भनी ७ लाख ७० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले रविनलाई काँडाघारीबाट, पदमलाई नयाँबजारबाट आइतबार र कार्त्तिकलाई दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू माथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन उनीहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




