काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय सुनाएको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले पौडेललाई ८ वर्ष कैदसहित तीन करोड ४२ लाख रुपैयाँ जरिवाना र बिगो भराउने फैसला सुनाएको हो ।
विशेष अदालतले यसअघि १४ कात्तिकमा उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो । त्यसैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद, तीन करोड ४२ लाख जरिवाना र बिगो भराउने सजाय तोकिएको छ ।
पौडेल र श्रेष्ठले अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको ठहर विशेष अदालतले गरेको हो । यस प्रकरणमा अख्तियारले विकलसहित १२ जनाविरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । तर, यसै मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित अन्यले सफाइ पाएका छन् ।




