धनुषा । जनकपुरधाममा हरेक वर्ष सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत रूपमा सुरु भएको छ । त्रेता युगमा भगवान् राम र जनकनन्दिनी सीताबीच सम्पन्न विवाहको स्मरणमा यो महोत्सव आयोजना गरिन्छ ।
महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम सम्पन्न हुनेछ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौं दिन मङ्सिर २० गते मटकोर र छैटौं दिन मङ्सिर २१ गते राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम आयोजना हुनेछ ।
अन्तिम दिन मङ्सिर २२ गते रामकलेवा गरी अयोध्याबाट आएका जन्तीको विदाईसँगै महोत्सवको समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।
सर्वपक्षीय बैठक सम्पन्न
महोत्सवलाई व्यवस्थित र निर्विघ्न सम्पन्न गर्न जानकी मन्दिरमा सर्वपक्षीय बैठक गरिएको छ । मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले महोत्सवलाई भव्य बनाउन सबै पक्षलाई सक्रिय सहयोग गर्न आग्रह गरेका छन् । यो महोत्सवमा भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने परम्परा छ ।
यस वर्ष पनि अयोध्याको श्रीराम मन्दिरका पुजारी र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई महोत्सवमा सरिक हुन जनकपुरधाममा निमन्त्रणा गरिएको छ । महोत्सवले धार्मिक, सांस्कृतिक र सामाजिक विविधतालाई समेट्दै हिन्दू, बौद्ध, शिख, र इसाई धर्मावलम्बीको सहभागिता जुटाउने गर्दछ ।




