काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका ७ घर भई ललितपुर महानगरपालिका १५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषा धनुषाधाम नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका ७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर ईन्द्रसरोबर गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका १५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन् ।
पक्राउ मध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रूपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका १५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका ७ बाट बिहिबार पक्राउ गरेको हो ।
यस्तै चन्द्रलाई काठमाडौं महानगरपालिका १२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




