काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचनमा नेपाली कांग्रेसले प्रभावशाली प्रदर्शन गर्दै प्रमुख पदहरूमा जित हात पारेको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल ५,३३४ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जनले ४,५५५ मत ल्याए भने एमालेका सुरेन्द्र मानन्धरले ४,३२७ मत प्राप्त गरे ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा २,८०५ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका निम लेकी शेर्पाले २,६०० मत प्राप्त गरे ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना १,६३७ मतसहित विजयी भइन् । उनले नेपाली कांग्रेसकी सविता बुढालाई ४३ मतले पछि पारिन् । त्यस्तै, उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५५९ मतसहित विजयी भए ।
पार्टीगत नतिजा:
मत परिणाम अनुसार नेपाली कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा विजय हासिल गर्यो । एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडामा जित हात पार्यो । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्षसहित सात वडामा जीत दर्ता गर्यो ।
जसपा नेपालले दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारले एक एक स्थानमा विजय हासिल गरे । ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समितिका प्रमुख तथा रुकुमपूर्वको पुथा उत्तरगङ्गा २ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
यो उपनिर्वाचनले नेपाली कांग्रेसको सुदृढ पकड कायम रहेको देखाएको छ भने एमाले र माओवादी केन्द्रले पनि आफ्नो उपस्थिति बलियो बनाएका छन् ।




