काठमाडौं । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै विभिन्न निकायमा फोन गरेर लाभ लिन खोज्ने एक व्यक्तिलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बैतडीको भूमेश्वर गाउँपालिका ७ निवासी २६ वर्षीय करनसिंह विष्ट हुन् ।
उनले गृहमन्त्री रमेश लेखकको पिए (प्रमुख स्वकीय) बताउँदै प्रहरी, प्रशासन र अन्य निकायहरूमा फोन गरेर अनावश्यक दबाब दिने र फाइदा उठाउन खोज्ने प्रयास गरेका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए ।
उनले नक्कली पिएको भूमिका निर्वाह गरेर ठगी गर्दै आएका विष्टविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढिसकेको बताए । गृहमन्त्रीको सचिवालयले केही समयदेखि विष्टका गतिविधि सूक्ष्म रूपमा निगरानी गर्दै आएको थियो ।
अनावश्यक दबाबपूर्ण फोनहरूबाट समस्या सिर्जना हुन थालेपछि सचिवालयको अनुरोधमा विष्टलाई पक्राउ गरिएको हो । सचिवालयले पनि पिए वा सल्लाहकार हुँ भन्दै फोन गरेर प्रभाव पार्ने व्यक्तिहरू प्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ ।




