काठमाडौं । गत अगष्ट महिनामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग १० लाख डलर धरौटी माग गरिएको छ । ह्युस्टनस्थित अदालतमा भएको सुनुवाइपछि साहलाई उक्त धरौटी रकम तिरेमा जेलबाहिर बसेर मुद्दा लड्न पाउने अनुमति दिइनेछ ।
साहलाई अगष्ट २४ मा आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरेको अभियोगमा केही दिनमै स्थानीय प्रहरीले पक्राउ गरी ह्यारिस काउण्टी जेलमा राखिएको थियो । नेप्लिज एशोसियसन अफ ह्युस्टनका सल्लाहकार द्रोण गौतमका अनुसार साहले १० लाख डलर धरौटी राख्न सकेमात्र जेलबाहिर रहन पाउनेछन् ।
मुनाको हत्या पछि ह्युस्टनको नेपाली समुदायले प्रहरी, मिडिया र उनकी आमा अनिता पाण्डेसहित परिवारसँग आवश्यक समन्वय गर्दै मुनाको अन्त्येष्टि र परिवारको सहयोगका लागि करिब ४० हजार डलर संकलन गरेको थियो । मुनाको अन्त्येष्टिका लागि ह्युस्टन आएकी उनकी आमा अनिता अझै नेपाल फर्केकी छैनन् ।




