हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि सोमबारदेखि नागरिकका लागि खुला गरिएको छ । हेटौँडा १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्गको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गरे । उनले सुरुङ मार्गको सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेडसँग सुरुङ मार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो । ३ करोड ६५ लाख रुपैयाँ खर्च गरेर २२५ मिटर लामो, २.५ मिटर चौडा र ३ मिटर उचाइको सुरुङ मार्गको जीर्णोद्धार गरिएको हो । सुरुङ मार्गको निर्माण २०८० असोज २२ मा सम्पन्न भएको थियो, तर सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द राखिएको थियो ।
अब उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङ मार्ग अवलोकन गर्न नेपालीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइने प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।
सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ बीच भागमा भासिएको थियो ।




