काठमाडौं । नेपाल सरकारका एक सचिवमाथि सरकारी शक्ति र स्रोतको दुरुपयोग गरी आफ्नी सालीलाई चोरबाटोबाट स्थायी जागिर दिलाएको आरोप लागेको छ । सुशासनको कुरा गर्ने ती सचिवले एक सरकारी कार्यालयलाई प्रभावमा पारेर रातारात आवश्यकता बिना विज्ञापन खुलाउने र त्यसै माध्यमबाट आफ्नी सालीलाई लोकसेवा प्रक्रियामार्फत नियुक्ति गराएको भनिएको छ ।
स्रोतका अनुसार, रामशाहपथस्थित सरकारी कार्यालयमा एक पदका लागि मात्र विज्ञापन खुलाइएको थियो । उक्त विज्ञापनमा एक मात्र दरखास्त पर्यो, जसमा सचिवकै सालीको नाम समावेश थियो । त्यसपछि प्रक्रिया पूरा गरी उनलाई स्थायी नियुक्ति दिइएको छ ।
यस घटना प्रति कर्मचारीहरु असन्तुष्ट भएपनि सचिवकी पत्नी समेत सोही कार्यालयमा कार्यरत रहेकाले खुला रुपमा विरोध गर्न नसकेको बताइएको छ । कर्मचारीहरूले यो घटनालाई सरकारी साधन र शक्तिको दुरुपयोगको ज्वलन्त उदाहरण भन्दै आलोचना गरिरहेका छन् ।
सचिवले आफ्नी सालीलाई नियुक्ति गराउन कार्यालयलाई आवश्यक नै नभएको पद सिर्जना गर्न दबाब दिएको आरोप छ । विज्ञापन प्रक्रियालाई गोप्य राखी बाहिरी प्रतिस्पर्धा हुनै नदिई आफ्ना मान्छेलाई जागिर दिलाएको घटना उजागर भएपछि सरकारी प्रणालीमा सुशासनको प्रश्न उठेको छ ।
यो घटनाले निजामती प्रशासनको छवि झन् धूमिल बनाएको छ । यसअघि पनि यस्तै प्रकारको घटना टङ्गालस्थित एक सरकारी कार्यालयमा भएको थियो । उक्त घटनामा एक हाकिमले आफ्नी गर्लफ्रेण्डलाई सरकारी सेवामा प्रवेश गराउन मिलेमतो गरेको खुलासा भएको थियो ।
सम्बन्धित सचिवमाथि यसअघि पनि बूढानिलकण्ठमा एक व्यवसायीले घर उपहार दिएको चर्चा थियो । यस्ता घटनाहरूले सरकारी प्रणालीलाई दिन प्रति दिन कमजोर बनाउँदै लगेको विश्लेषकहरूको भनाइ छ ।
सरकारी निकायमा यी प्रकारका अनियमितताले सेवामुखी प्रशासनको अवधारणालाई चुनौती दिएको छ । घटना बारे थप छानबिनको माग भइरहेपनि, उच्च ओहदाका व्यक्तिहरूको संलग्नताले समाधान खोज्न कठिनाइ हुने देखिन्छ ।




