काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीका लागि आवेदन फाराम खुला गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले बिहीबार सूचना जारी गर्दै परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले माघ १२ गतेभित्र आवेदन फाराम बुझाउन आह्वान गरेको हो ।
फाराम बुझाउन प्रति परीक्षार्थी ५०० रुपैयाँ दस्तुर तोकिएको छ । तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयहरूलाई निर्देशन दिँदै बोर्डले समयमै फाराम नबुझाए परीक्षामा सहभागी हुन नपाउने जानकारी गराएको छ ।
क-कस्ले दिन सक्छन् आवेदन ?
– २०७८ र २०७९ सालको नियमित वा ग्रेडवृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त गरेका परीक्षार्थी ।
– परीक्षामा अनुपस्थित भई ग्रेडवृद्धि गर्न चाहने परीक्षार्थीले ती विषयमा मात्र आवेदन दिन सक्नेछन् ।
– २०८० सालको नियमित वा पुरक परीक्षाका परीक्षार्थीहरूले एनजी भएका वा अनुपस्थित भएको विषयमा मात्र ग्रेडवृद्धिका लागि आवेदन फाराम भर्नुपर्नेछ ।
परीक्षार्थीहरूको फाराम समयमै भराइ सुनिश्चित गर्न विद्यालयहरूले आवश्यक समन्वय गर्नुपर्ने बोर्डले आग्रह गरेको छ ।




