काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तीन जनालाई दोषी ठहर गर्दै फैसला सुनाएको हो ।
अदालतको फैसला अनुसार प्रतिवादीहरूले ३३ करोड ९३ लाख रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेका थिए । उनीहरूले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिलाई विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर र रूपान्तरण गरी शुद्धीकरण गरेको ठहर अदालतले गरेको छ ।
यसअघि, बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई उनीहरूलाई सजाय तोकिएको थियो । सर्वोच्च अदालतले पनि उक्त फैसला सदर गरेपछि सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो । उनीहरूलाई सजाय निर्धारणका लागि आगामी पुस २२ गते पेशी तोकिएको छ ।




