काठमाडौं । नयाँ वर्ष नयाँ सुरुवातको प्रतीक हो । पुराना सम्झनालाई मनमा बिसाउँदै र आगामी दिनलाई सकारात्मक ऊर्जा र उत्साहका साथ स्वागत गर्दै धेरै मानिसले नयाँ वर्षलाई घुमफिरका लागि उपयुक्त समय मान्ने गर्छन् । विशेष गरी नेपालजस्तो देशमा, जहाँ प्राकृतिक सुन्दरताका साथ साथै सांस्कृतिक विविधता र ऐतिहासिक महत्व बोकेका ठाउँहरू प्रशस्तै छन्, जहाँ नयाँ वर्षको सुरुवात रमाइलो यात्राबाट गर्न सकिन्छ । देशका विभिन्न रमणीय गन्तव्यहरू घुम्दै नयाँ अनुभव र सम्झनाहरू संकलन गर्ने यो समयलाई विशेष बनाउन सकिन्छ ।
१. कन्याम, इलाम
पूर्वी नेपालको प्रसिद्ध चियाबारी रहेको इलामको कन्याम, सूर्योदय नगरपालिका भित्र पर्छ । यहाँको हरियो चियाबारी र हिमालका दृश्यहरूले पर्यटकलाई आकर्षित गर्छ । झापा, मोरङ र भारतका विभिन्न क्षेत्रबाट गर्मी छल्न मानिसहरू यहाँ पुग्ने गर्छन् । कन्याममा घोडचडी, श्रीअन्तु र सगरमाथाजस्ता हिमालहरूको दृश्यावलोकन प्रमुख आकर्षण हुन् ।
२. भेडेटार, सुनसरी
धरानबाट १७ किलोमिटर उत्तरमा रहेको भेडेटार, सुनसरी र धनकुटाको सिमानामा अवस्थित छ । चाल्स प्वाइन्ट नामक भ्यू टावरबाट सप्तकोशी, हिमालय र तराईका मनोरम दृश्यहरू देख्न सकिन्छ । यहाँ चिसो मौसम र हरियालीले पर्यटकलाई मोहित बनाउँछ ।
३. सौराहा, चितवन
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहा हात्ती सफारी र जीप सफारीका लागि चर्चित छ । यहाँ विभिन्न होटल र रिसोर्टहरू उपलब्ध छन् । प्राकृतिक सुन्दरतासँगै जनावरहरूको निकट अनुभव लिन चाहनेका लागि सौराहा उत्कृष्ट गन्तव्य हो ।
४. नगरकोट, भक्तपुर
काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्वमा रहेको नगरकोटबाट हिमालयको मनोरम दृश्य देखिन्छ । सूर्योदय अवलोकन गर्न यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।
५. पोखरा, कास्की
पोखरा तालहरूको नगरीका रूपमा चिनिन्छ । यहाँ फेवा ताल, सराङकोट, महेन्द्र गुफाजस्ता स्थानहरूले पर्यटकलाई लोभ्याउँछन् । साहसिक खेलकुद र प्राकृतिक सुन्दरताको संगम भएको पोखरा विदेशी तथा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो ।
६. बन्दीपुर, तनहुँ
नेवारी कला र संस्कृतिका लागि प्रसिद्ध बन्दीपुर गाउँ पारिवारिक यात्रा तथा हाइकिङको लागि उपयुक्त मानिन्छ । बन्दीपुर प्याराग्लाइडिङ र ऐतिहासिक स्थलहरूको लागि पनि चर्चित छ ।
७. लुम्बिनी, रूपन्देही
गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल हो । ऐतिहासिक महत्व बोकेको यस क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
८. रारा ताल, मुगु
नेपालकै सबैभन्दा ठूलो ताल रहेको रारा निकुञ्ज, प्रकृतिप्रेमीहरूको लागि उत्कृष्ट गन्तव्य हो । यहाँ पाइने केही विशिष्ट माछाका प्रजातिहरू अन्यत्र कतै पाइँदैनन् ।
९. खप्तड क्षेत्र, सुदूरपश्चिम
बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थल खप्तडले हिमाली सुन्दरता र सांस्कृतिक महत्त्वलाई समेट्छ । खप्तड बाबाको कुटी र खप्तड ताल यहाँका प्रमुख आकर्षण हुन् ।
१०. जोमसोम, मुस्ताङ
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने जोमसोम मुक्तिनाथ र लोमान्थाङको प्रवेशद्वार हो । धौलागिरी र निलगिरी हिमालको दृश्यावलोकनले यहाँको यात्रा सम्झनालायक बनाउँछ ।
नयाँ वर्षको अवसरमा यी स्थानहरूको भ्रमण गरी प्राकृतिक सुन्दरताको अनुभव लिन सकिन्छ ।




